चालु आवको चार महिनामा काठमाडौं महानगरपालिकाले कुल दुई अर्ब ९३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा १७ करोडले बढी हो ।
काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म काठमाडौं महानगरपालिकाको राजश्व संकलन करिव १७ करोडले बढेको छ । चार महिनाको अवधिमा महानगरले कुल दुई अर्ब ९२ करोड ९६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
गत वर्षको यसै अवधिमा महानगरपालिकाले दुई अर्ब ७५ करोड ९९ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
काठमाडौं महानगरले सबैभन्दा बढी राजश्व घरबहाल करबाट उठाएको छ । चार महिनाको अवधिमा घरबहाल कर ८१ करोड ९२ लाख रुपैयाँ उठेको छ । यस्तै, यसै अवधिमा ४१ करोड ८६ लाख रुपैयाँ सम्पत्ति कर उठेको छ ।
अहिले काठमाडौं महानगरपालिकाभित्र तीन लाखभन्दा बढी करदाता रहेको बताइएको छ ।